” ओहो ! बल्ल भेट भयो , खाजा सँगै खाउँ है !” रुपेशले प्रस्ताव राख्यो ।
रुबिनाले भनी ” नाइँ नखाने। तिमी मेरो पछि नलाग ! हाम्रो जात फरक फरक। मलाई तिमी मन पर्दैन ।”
रुपेश र रुबिना एउटै कक्षाका बिद्यार्थी भए पनि सेक्सन फरक थियो ।
एक बर्ष अघिदेखि आत्मिय मित्र थिए उनीहरु । आफ्नो मनको कुरा भन्न खोजेर पनि भन्न सकेको थिएन, रुपेशले ।
जुन दिन रुबिनालाई देख्यो । भित्रैबाट मन पराइसकेको थियो उसले । खाली समयमा पनि उनकै प्रतीक्षामा हुन्थ्यो। कक्षाको वरिपरि घुमिरहन्थ्यो । लुकि लुकि उनका कृयाकलाप नियालिरहेको हुन्थ्यो ।
रुपेसको यस्तो व्यबहारले गर्दा रुबिनालाई साथीहरुले पनि जिस्काउन थालेका थिए । त्यसमा पनि रुपेश तल्लो जातको , त्यसैले उबाट टाढा हुन चाहेकी थिई ।
रुपेशभन्दा टाढै बसेर खाजा खाँदै थिइ। एक्कासी रुबिना बेहोस भएर ढली ।
सबै मिलेर तत्काल अस्पताल पुर्याए उसलाई।
डाक्टरले भने ; “बिरामीको शरीरमा रगतको कमि छ , फ्रेस रगत नभए बचाउन गाह्रो छ।”
त्यहाँ आएका मध्ये कसैको पनि रगतको ग्रुप मिलेन, रुपेशको मात्र मिल्यो । उसले खुसी हुँदै रगत दियो । रुबिनाको जिवन बचाउन पाएर ऊ धेरै खुसी थियो ।
जब रुबिनाको होस आयो । सबै कुरा थाहा पाइ।
त्यसपछि रुबिनाका आँखाले रुपेशलाई सरी भनिरहेका थिए । आँखाभरी आँसु पार्दै रुपेशलाई हेरिरही ।
रुपेश ले रुबिनाको बिछौनानजिकै गएर भन्यो ; ” रुबिना ! हाम्रो जात एउटै नभए पनि रगत त एउटै रहेछ नि ! ओ पोजिटिभ। ”
शान्ता तिम्सिना
भक्तपुर